चाँदनी अधिकारी
लमजुङको राइनास नगरपालिकामा संचालित चौथोँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधी शिशु विद्याश्रम माविले हात पारेको छ ।
राइनास नगरपालिकास्थित गौलीटार क्षेत्रीय खेल मैदानमा संचालित खेलकुद प्रयितोगितामा ३१ पदकसहित शिशु विद्याश्रम माविले प्रतियोगिताको प्रथम उपाधी हात पारेको हो ।
यसैगरी, प्रतियोगितामा १४ पदकसहित शौभाग्यदया मावि द्धितीया भएको छ । यस्तै, १३ पदकसहित वीर भक्ति मावि तृतीया भएको शिक्षा शाखा, राइनास नगरपालिकाका शाखा अधिकृत पूर्णबहादुर नेपालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुधबार भएको प्रतियोगिताको फाइनल खेलका विजेता प्रथम,सफल विद्यालयलाई पुरस्कारस्वरुप नगद २० हजार ट्रफी, प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै, द्धितीया र तृतीया भएका विद्यालयलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगिताको समापन एवं पुरस्कार वितरण कार्यक्रम राइनास नगरपालिकाका सामाजिक विकास संयोजक स्वतन्त्र हमालको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै उहाँले मर्यादित रुपमा खेल प्रतिभा प्रस्तुत गरेकोमा सम्पूर्ण सहभागी विद्यार्थीलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
उहाँका अनुसार प्रताियेगितामा एक सय, २ सय, चार सय ८ सय र १ हजार ५ सय मिटरको दौड भएको हो ।
प्रतियोगितामा एथ्लेटिक्सका साथै कराँते खेल प्रतियोगिता भएको थियो । प्रतियोगितामा राइनास नगरपालिका क्षेत्रका ११ माध्यमिक विद्यालयको सहभगिता जनाएका थिए ।
विद्यार्थीमा रहेको खेल प्रतिभाको प्रष्फुटन गराउने उद्धेश्यले प्रतियोगिता संचालन गरिएको हो ।
समापन कार्यक्रममा समाजसेवी गणेशराज चिलवाल, राइनास नगरपालिका वडा नं ६ का वडाअध्यक्ष रुकबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षा शाखा, राइनास नगरपालिकाका शाखा अधिकृत नेपालीले गर्नुभएको हो ।