श्यामशितल परियार
लमजुङको सुन्दरबजार नगरपालिका–८, भोटेओडारका प्रमोद कुवँरले माछापालन गर्नुभएको छ । टनेलभित्र २ वटा प्लाष्टिक पोखरी बनाइ उहाँले ‘बायोफ्लोक’ (ब्याक्टेरियाको झुण्डमा आधारित) माछापालन गर्नुभएको हो ।
टनेलभित्र १०÷१० घनमिटरको प्लाष्टिक पोखरी बनाइ उहाँले माछापालनको सुरुवात गर्नुभएको हो ।
संरचना निर्माणपश्चात् गएको जेठ २१ गते उहाँले चितवनबाट ‘पंगास’ जातको माछाको भुरा ल्याइ माछापालन गर्नुभएको हो । नयाँ प्रविधिमा माछा पाल्दा किसानलाई फाइदैफाइदा हुन्छ । तुलनात्मक रुपमा कम श्रम र लगानीमा धेरै प्रतिफल लिन सकिने भएकाले आफु नयाँ प्रविधि अपनाइ माछापालनमा होमिएको उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार पुरानो तवरबाट माछा पाल्दा रोग नियन्त्रणमा सकस हुनुका साथै धेरै जग्गा र पानी चाहिन्छ । तर थोरै जग्गा, थोरै पानीको उपलव्धतामा पनि ‘बायो–फ्लोक’ प्रविधिबाट माछापालन गरी मनग्य आम्दानी लिन सकिने सम्भावना रहेको उहाँले बताउनुभयो ।
प्लाष्टिक टनेल, दुईवटा प्लाष्टिकको माछापोखरी निर्माण, माछाका भुरा खरिद, पोखरीमा अक्सिजन प्रवाहका लागि मोटर खरिदमा गरी ३ लाख हाराहारीमा खर्च भएको छ ।
उहाँले प्रति पोखरी पाँच सय माछाका भुरा पाल्नुभएको छ । पोखरीमा एक हजार माछाका भुरा पालिएका छन् ।
उत्पादन सुरु भएपछि स्थानीय रुपमै माछा खपत हुने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार पंगास जातको माछा बायो फ्लोक प्रविधिमा सुहाउँदो छ ।
उहाँले माछापालनको साथमा कागती खेती, गोलभेँडा खेती गर्नुभएको छ ।
जाँगर, उत्साह भएमा देशमै कृषि उद्यम गरी राम्रो आर्जन गरी जीवन चलाउन सकिने उहाँले बताउनुभयो ।