नेकपा एमालको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मंसिर ४ गते हुन लागेको प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनमा एमालेको बहुमत आउन सक्ने बताउनुभएको छ । नेकपा एमाले प्रचार विभाग लमजुङ र प्रेस चौतारी लमजुङले आइतबार बेसीशहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता गुरुङले यस्तो बताउनुभएको हो । गएको स्थानीय तहको चुनावमा ३४ प्रतिशत मतसहित एमाले पहिलो लोकप्रिय पार्टी रहेको र त्यसमा ६ प्रतिशत मात्रै मत थप्न सकेमा पनि चुनावमा एमालेको एकल बहुमत आउन सक्ने उहाँले उल्लेख गर्नुभयो । एमालेमा हाल ८ लाख ५५ हजार पार्टी सदस्य रहेको बताउँदै नेता गुरुङले आठ लाख सदस्य मात्रै नयाँ दुई मतदाता तयार गर्ने अभियानमा लागेमा १६ लाख मतदाता थपिने उहाँले बताउनुभयो । नेकपा एमालेको एकल सरकार भएमा मात्रै मुलुकमा विकास, सुशासन र समृद्धिको अभियान अघि बढ्ने, गरिवी निवारण हुने उहाँको दाबी छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहनुभएका गुरुङले अधुरा अपुरा रहेका काम पुरा गर्न पनि पुनः एक पटक मुख्यमन्त्री बन्नका लागि संघ छाडी प्रदेश रोजेको उहाँले बताउनुभयो ।गुरुङलाई प्रदेश सभा सदस्य उम्मेदवारको रुपमा नेकपा एमालेले लमजुङको प्रदेश सभा ‘ख’बाट नाम सिफारिस गरेको छ ।