Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 27, Feb, 2024

व्यवसायिक गाईपालनमा लमजुङ स्याउलीका दुर्गाबहादुर तामाङ ः मासिक ६० हजार आम्दानी

रेडियो भोटेओडार २६ असार २०८०, मंगलवार १६:३७ मा प्रकाशित ( ७ महिना अघि) ५७९७ पाठक संख्या

उमेरले पाँच दशक नाघिसक्यो । उमेर ढल्कदो छ । तर जोस–जाँगरमा कमी आएको छैन, लमजुङ राइनास नगरपालिका–६, स्याउलीका दुर्गाबहादुर तामाङको ।
घाम उदाएदेखी अस्ताएसम्म फार्ममा पालिएका गाईकै स्याहारमै व्यस्त हुनुहुन्छ, उहाँ । गाईकै स्याहार–सुसारमा दैनिकी बिताउन पाउँदा उहाँलाई रमाइलो लाग्छ । गाइपालनमा उहाँको चौध वर्षको अनुभव छ ।
‘गाईको गोठमा रमाएको पनि चौध वर्ष भइसक्यो । बिहान उठेदेखी राती नसुतेसम्म गाईकै रेखदेख, कुडोपानीमै समय बित्छ । यसमै मन रमेको छ,’ उहाँले भन्नुभयो ।
विगतमा तरकारी खेती गर्नुभएका तामाङ २०६६ सालदेखी व्यवसायिक गाईपालनमा होमिनुभएको हो । तरकारी खेती गर्दैगर्दा मलको आवश्यकता पर्ने । मलको आवश्यकताले नै सुरुमा उहाँले गाइपालन गर्नुभएको हो ।
‘तरकारी खेतीमा लागियो । उत्पादित तरकारी सदरमुकाम (बेसीशहर) बजारसम्म पुर्याइयो । तरकारी खेतीका लागि मल आवश्यक पर्ने । सुरुमा मलकै लागि गाईपालन गरियो,’ उहाँले भन्नुभयो ।
मलसंगै दूध उत्पादन हुने र उत्पादित दूध बिक्रीबाट मनग्य आम्दानी भएसंगै उहाँले गाईपालनलाई व्यवस्थित रुपमै विस्तार गर्नुभएको हो ।
उहाँले अघि थप्नुभयो, ‘खेतीपातीका लागि मल पनि हुने । उत्पादित दूध बिक्रीबाट राम्रो कमाइ पनि हुने । सुरुमा मलका लागि पालिएको गाईपालन व्यवसायलाई थप विस्तार गरेँ । उत्पादन राम्रो भइरहेको छ । आम्दानी पनि मनबुझ्दो छ ।’
‘शितल गाई फार्म’ दर्ता गरी गाईपालनमा निरन्तर लाग्नुभएका किसान तामाङसंग दूध बिक्रीबाट मासिक लाखौँ कमाएको अनुभव छ । अहिले फार्ममा साना–ठूला गरी २० वटा गाई पालिएका छन् । अहिले दैनिक ४० लिटर हाराहारीमा दूध उत्पादन हुँदै आएको छ ।
‘अहिले दूध उत्पादन कम छ । दुहुना भन्दा ब्याउने गाइ धेरै छन् । गाई ब्याएपछि फेरी उत्पादन बढ्छ,’ उहाँले भन्नुभयो । उत्पादित दूध सजिलै खपत भएको छ । उत्पादित दूध प्रतिलिटर ७० रुपैयाँदेखी ९० रुपैयाँसम्म बिक्री हुँदै आएको छ ।
‘बजारको कुनै समस्या छैन । उत्पादन बिकिरहेको छ । त्यसैले पनि यसै व्यवसायमा अहिलेसम्म टिकिरहेको छु,’ दुर्गाबहादुरले भन्नुभयो, ‘अहिले मासिक यस व्यवसायबाट ५०÷६० हजार कमाइ भएको छ ।’
गाईपालनकै लागि उहाँले आफ्नोसंगै भाडाको समेत जग्गा गरी ३६ रोपनी क्षेत्रफल जमिनमा विभिन्न थरीका घाँस लगाउनुभएको छ । दाना, चोकरको मात्रै भर पर्दा किसानको लागत बढ्ने भएकाले आफुले पशु आहाराका लागि घाँस खेती गरेको उहाँले बताउनुभयो ।
‘दाना, चोकरको मात्रै भर पर्दा लागत बढ्छ । घाँस खुवाउन सकेमा उत्पादन पनि बढ्छ । लागत पनि तुलनात्मक रुपमा कम पर्न जान्छ । त्यसैले घाँस खेती गरिरहेको छु,’ उहाँले थप्नुभयो ।
दाना, चोकरको मूल्य बढि तिर्नुपर्ने किसानलाई मर्का परेको उहाँले दुखेसो पोख्नुभयो । ‘दाना, चोकर खरीदमा महँगो मूल्य तिर्नुपर्छ । किसानलाई मर्का छ,’ उहाँले भन्नुभयो, ‘पशुपलनका लागि घाँस खेती अनिवार्य हुन्छ । किसानले पुशपालन गर्दा घाँस खेतीलाई जोड दिनुपर्छ ।’
घरगाउँमै बसेर गाईपालन व्यवसायबाट राम्रो आर्जन गरी सजिलै गुजारा चलाउन सकिने सम्भावना रहेको उहाँ बताउनुहुन्छ ।
‘श्रम–पसिना त बगाउनुपर्यो । विदेश जाँदा लाग्ने खर्च, उता बगाउने पसिना देशकै माटोमा खर्चने, बगाउन सके देशकै माटोमै गरेको कृषि उद्यमले जीवनमा खुशी छर्नसक्छ । त्यो सम्भावना छ । सकेसम्म देशकै माटोमा उद्यम गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
राइनास नगरपालिका क्षेत्रमा उहाँजस्तै अन्य थुप्रै किसानहरु पछिल्लो समय गाईपालनमा होमिएका छन् ।
राइनास नगरपालिकाले उत्पादनमा आधारित रहेर अनुदानको व्यवस्था गरेसंगै यस व्यवसायमा किसानको आकर्षणसंगै दूध उत्पादन पनि बढिरहेको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताउनुभयो ।
यस्तै, लमजुङको मध्यनेपाल नगरपालिका, राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका, बेसीशहर नगरपालिका लगायतका पालिकाहरुका विभिन्न ठाउँमा व्यवसायिक रुपमा गाईपालन भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो ।
‘लमजुङमा गाईपालनको उच्च सम्भावना छ । किसानको आकर्षण छ । किसानहरु गाईपालनमा जुटिरहेका छन् । उत्पादित दूधलाई विभिन्न परिकार बनाउन सकेमा, ब्राण्डिङ गर्न सकेमा किसानले झनै राम्रो आर्जन गर्न सक्ने डा. श्रेष्ठले बताउनुभयो । गाईपालनमा किसानलाई विज्ञ केन्द्रले सघाउँदै आएको उहाँले बताउनुभयो ।
अहिले भने ‘लम्पी स्किन’ संक्रमणका कारण पुशपालक किसानलाई समस्या बनाएको विज्ञ केन्द्रले जनाएको छ ।


FLASH NEWS